काठमाडौं । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब पौने १० बजे सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किएका थिए।दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।उपचारका क्रममा बेलका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। त्यस्तै विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न स्कुल बस र चालक बेलका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ।घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।