काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर भैँसी चराउन जाने क्रममा खोलामा डुबेका थिए। उनी खोलामा बेपत्ता भएको सूचना स्थानीयले सुरक्षाकर्मीलाई दिएका थिए।सूचना पाएपछि खोजीका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा संयुक्त टोली परिचालन गरिएको थियो।खोजीका क्रममा सशस्त्र प्रहरीको टोलीले ब्रह्मदेवलाई खोलामा डुबेको अवस्थामा मृत फेला पारेको हो।फेला परेको शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।