काठमाडौं । काठमाडौं उपत्यकामा निजी स्तरमा सञ्चालन भइरहेका छात्रावास होस्टेल लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मापदण्ड सुधार गरी नियम पूर्ण रूपमा पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ।
होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुल्ने गरिएको, पूर्वाधार कमजोर रहेको तथा लागुऔषधको प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना जारी गर्दै सबै निजी होस्टेल सञ्चालकलाई मापदण्ड पालना गर्न निर्देशन दिएको हो।प्रशासनका अनुसार पछिल्लो समय गरिएको नियमित तथा आकस्मिक अनुगमनका क्रममा नियम उल्लंघन गर्ने केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको छ।होस्टेलभित्रै झडप हुँदा विद्यार्थीको मृत्युसम्म भएको, सरसफाइ तथा खानाको गुणस्तर कमजोर रहेको र सुरक्षा व्यवस्था फितलो देखिएको भन्दै प्रशासनले सबै निजी होस्टेललाई एक महिनाभित्र २१ बुँदे मापदण्ड पूरा गर्न निर्देशन दिएको छ।प्रशासनले जारी गरेको सूचनाअनुसार अब सबै निजी होस्टेल तोकिएको निकायमा अनिवार्य रूपमा दर्ता तथा नवीकरण हुनुपर्नेछ। होस्टेलले लिने शुल्क र दररेट स्पष्ट रूपमा सार्वजनिक गरी त्यहीअनुसार मात्र रकम लिनुपर्ने व्यवस्था गरिएको छ।
होस्टेल सञ्चालक र विद्यार्थीबीच अनिवार्य सम्झौता गर्नुपर्नेछ। त्यस्तै, घर भाडामा लिएर होस्टेल सञ्चालन गरिएको भए घरधनीसँग समेत लिखित भाडा सम्झौता गर्नुपर्नेछ।विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक होस्टेलका अन्य क्षेत्रमा अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्नेछ।होस्टेलमा २४सै घण्टा जिम्मेवार वार्डेन तथा निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। सञ्चालक, वार्डेन र होस्टेलमा बस्ने सबै विद्यार्थीको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।प्रशासनले होस्टेलभित्र लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिएको छ।पूर्वाधारतर्फ महिला र पुरुषका लागि सञ्चालन हुने होस्टेलमा छुट्टाछुट्टै कार्यालय तथा आवास भवनको व्यवस्था गर्नुपर्नेछ। कोठा पर्याप्त फराकिलो हुनुका साथै हावा र प्रकाशको उचित व्यवस्था हुनुपर्नेछ।त्यस्तै, व्यवस्थित पुस्तकालय र अध्ययन कक्ष, शुद्ध खानेपानी, नियमित विद्युत् तथा इन्टरनेटको वैकल्पिक व्यवस्था अनिवार्य गरिएको छ।
होस्टेलमा सरसफाइ तथा खाद्यान्नको गुणस्तर कायम गर्नुपर्नेछ। आपत्कालीन अवस्थाका लागि फायर एक्स्टिङ्गुइसर, प्राथमिक उपचार सामग्री तथा सरकारी निकायका आपत्कालीन सम्पर्क नम्बर सबैले देख्ने गरी राख्नुपर्नेछ।विद्यार्थी तथा होस्टेलमा बस्ने सबै व्यक्तिमाथि मानवीय र मर्यादापूर्ण व्यवहार गर्नुपर्ने प्रशासनको निर्देशन छ। विद्यार्थीले पनि अनुशासन र मर्यादा कायम गर्नुपर्नेछ।होस्टेल वरपरका छिमेकीलाई असर पर्ने गरी होहल्ला गर्न नदिने व्यवस्था मिलाउन सञ्चालकलाई भनिएको छ। साथै, विद्यार्थीका लागि समय–समयमा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै अनुशासन र मर्यादा कायम गर्न कम्तीमा महिनामा एकपटक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेछ।सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी खिमराज भुसालले प्रशासनले दिएको एक महिनाको अवधिभित्र तोकिएका मापदण्ड पूरा नगर्ने निजी होस्टेल सञ्चालकमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्।