काठमाडौं । रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक तथा प्रवक्ता झबेन्द्र परियारका अनुसार उनीहरू सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा दुर्घटनामा परेका थिए।आइतबार बिहान करिब साढे ८ बजे स्वस्तिका र शान्दिका क।प्र।०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा सवार थिए। उनीहरू रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै गुल्मीस्थित घरतर्फ जाँदै थिए।यात्राका क्रममा छोरी शान्दिकाले शौच गर्न भनेपछि स्वस्तिकाले गाडी रोक्न लगाएकी थिइन्। त्यसपछि उनीहरू सडकमा ओर्लिएका बेला सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको १४८२ नम्बरको गाडीले आमा–छोरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा चारजनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते आमा–छोरीलाई उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्याएको थियो।अस्पतालमा उपचारका क्रममा बिहान करिब साढे ९ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।प्रहरीका अनुसार स्वस्तिकाका श्रीमान् घनश्याम ज्ञवाली रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत छन्। उनी श्रीमान्लाई भेट्न केही समयअघि छोरीसहित रुकुम पुगेकी थिइन्।आइतबार बिहान श्रीमान्लाई भेटेर छोरीसहित गुल्मीस्थित घर फर्किने क्रममा रहेकी स्वस्तिका र उनकी छोरी घर पुग्न नपाउँदै बाटोमै दुर्घटनाको सिकार भएका हुन्।