काठमाडौं । बाढीका कारण नौ दिनदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले सडक, पुल र चारवटा घरमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको थियो।नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले अस्थायी मर्मत गरेपछि सडकमा यातायात सञ्चालनमा आएको हो। सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन चल्न थालेका छन्।तर, सडक सञ्चालनमा आए पनि ताक्सुगाड क्षेत्रमा बाढीको जोखिम भने अझै हटेको छैन। माथिल्लो क्षेत्रमा वर्षा हुँदा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने र पुनः सडक अवरुद्ध हुन सक्ने स्थानीयको भनाइ छ।बाढीले ताक्सुगाड क्षेत्रमा सडक र पुलमा ठूलो क्षति पुर्याउनुका साथै चारवटा घरसमेत बगाएको थियो। सडक अवरुद्ध हुँदा डोल्पातर्फ जाने यात्रु तथा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन बाटोमै रोकिएका थिए।नलगाड–१२ का स्थानीय तेजबहादुर विकले लामो समय सडक बन्द हुँदा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको बताए। सडक खुलेपछि तत्कालका लागि सहज भए पनि जोखिम पूर्ण रूपमा नहटेको उनको भनाइ छ।
बाढीका कारण सडक र पुलसँगै रोली ज्यूलामा निर्माण गरिएको सिँचाइ नहरसमेत क्षतिग्रस्त भएको छ। नहर बग्दा स्थानीय किसानको सिँचाइ व्यवस्था प्रभावित भएको छ।नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतका अनुसार नहर पुनर्निर्माणका लागि लागत अनुमान तयार पारिएको छ। प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत नहर पुनर्निर्माण गर्ने तयारी भइरहेको उनले बताए।उनका अनुसार बाढीबाट क्षतिग्रस्त संरचनाको अस्थायी मर्मतले मात्रै दीर्घकालीन समाधान नहुने भएकाले जोखिमयुक्त क्षेत्रमा बलिया र स्थायी संरचना निर्माण आवश्यक छ।भेरी करिडोरअन्तर्गतका विभिन्न खोलामा वर्षायाममा पानीको बहाव बढ्दा हरेक वर्ष यातायात प्रभावित हुँदै आएको छ। धेरै स्थानमा स्थायी पुल तथा कल्भर्ट निर्माण सम्पन्न नहुँदा सवारीसाधनले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ।
विशेषगरी छलगाडमा स्थायी पुल नहुँदा डोल्पाको सदरमुकाम दुनैसम्म नियमित रूपमा सवारीसाधन सञ्चालन गर्न कठिन हुने गरेको स्थानीय बताउँछन्। खोलामा पानीको बहाव बढेपछि सवारी रोकिने र यात्रुले पैदल खोला पार गर्नुपर्ने अवस्था आउने गरेको छ।भेरी करिडोरका महत्वपूर्ण पाँच पुल निर्माणको जिम्मा क्याराभान हिराचन जेभीले पाएको थियो। नलगाड र झुर्मेखोलामा पक्की पुल निर्माणका लागि १८ करोड ४३ लाख ४३ हजार रुपैयाँको ठेक्का सम्झौता भएको थियो।त्यस्तै त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको पुल निर्माणका लागि १३ करोड ५४ लाख रुपैयाँको अर्को ठेक्का पनि सोही कम्पनीले पाएको थियो। तर, यी रणनीतिक महत्वका पुलहरू अझै पूर्ण रूपमा निर्माण सम्पन्न हुन सकेका छैनन्।स्थानीयका अनुसार अधुरा पुल र कमजोर सडक संरचनाका कारण वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। यसले यात्रु आवागमनसँगै डोल्पामा खाद्यान्न, औषधि तथा निर्माण सामग्रीको आपूर्तिमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ।
जाजरकोटदेखि डोल्पासम्म करिब १ सय १८ किलोमिटर लामो भेरी करिडोरले सडक सञ्जालमार्फत दुर्गम क्षेत्रलाई जोडेको छ। सडक निर्माणपछि यातायात पहुँचमा सुधार आए पनि बाढीपहिरो, पुलको अभाव र कमजोर संरचनाका कारण वर्षायाममा नियमित यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ।ताक्सुगाडमा सडक अस्थायी रूपमा खुले पनि क्षतिग्रस्त सडक, पुल तथा सिँचाइ संरचनाको स्थायी समाधान नभएसम्म वर्षायाममा पुनः सडक अवरुद्ध हुने जोखिम कायमै रहेको स्थानीयको भनाइ छ। उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी जोखिमयुक्त स्थानमा स्थायी पुल तथा सुरक्षित सडक संरचना निर्माण गर्न माग गरेका छन्।