पोर्चुगल । पोर्चुगलका राष्ट्रपति एन्टोनियो जोसे सेगुरोले सार्वजनिक स्थानहरूमा अनुहार छोप्ने पहिरन लगाउन प्रतिबन्ध लगाउने बहुचर्चित ‘बुर्का कानुन’लाई स्वीकृति दिएका छन् ।
यस कानुनको उल्लङ्घन गरेमा ३ हजार युरोसम्मको भारी जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।अन्तिम मस्यौदामा इस्लाम धर्मको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरिए तापनि यस कानुनले बुर्का र नकाबजस्ता अनुहार पूर्ण रूपमा छोप्ने पहिरनलाई प्रतिबन्धित गरेको छ । यद्यपि, कपाल र घाँटी छोप्ने तर अनुहार खुला राख्ने ‘हिजाब’ लगाउन भने रोक लगाइएको छैन ।
गत अगस्ट १८ का दिन उक्त संसदीय आदेश जारी गर्दै राष्ट्रपति सेगुरोले यसलाई सामाजिक र सांस्कृतिक संवेदनशीलताको विषय भएको र यसले अधिकार तथा जिम्मेवारीबीच सन्तुलन कायम गर्ने बताएका छन् । सुरक्षा, लैङ्गिक समानता, सामाजिक एकीकरण र विश्वासको आवश्यकता औंल्याउँदै उनले युरोपेली मानव अधिकार अदालतको फैसलालाई समेत आफ्नो निर्णयको आधार मानेका छन् ।
उनका अनुसार, मानव पहिचान र सञ्चारका लागि अनुहार अत्यन्त महत्त्वपूर्ण हुन्छ । महिलालाई मात्र अनुहार छोप्न बाध्य पार्नु महिला र पुरुषबीचको समानता र मर्यादाको सिद्धान्तविपरीत हुने राष्ट्रपतिको ठहर छ । खुला अनुहारले सामाजिक विश्वास र आपसी अन्तर्क्रियालाई बढावा दिने भए तापनि लोकतान्त्रिक समाजमा साझा नियमभित्र रहेर आफ्नो पहिचान र आस्थाअनुसार बाँच्न पाउने स्वतन्त्रता भने कायमै रहने उनले स्पष्ट पारेका छन् ।
यस कानुनलाई लिस्बनस्थित केन्द्रीय मस्जिदका इमाम शेख डेभिड मुनिरले पनि सुरक्षाको दृष्टिकोणले उचित भन्दै समर्थन गरेका छन् । इस्लाम धर्म-अनुसार महिलाले अनुहार खुला राख्नु पाप नभएको स्पष्ट पार्दै उनले सार्वजनिक स्थानमा अनुहार नछोप्ने ‘हिजाब’को प्रयोग गर्न मुस्लिम महिलाहरूलाई सुझाव दिएका छन् । पोर्चुगलमा बुर्का लगाउने महिलाको सङ्ख्या निकै कम रहेको पनि उनले बताएका छन् ।