काठमाडौँ । सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
हरिपुर्वा नगरपालिका–३, काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५, सुक्नाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ का २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै मोटरसाइकललाई प्रहरी चौकी पर्साको नियन्त्रणमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।