रोमानिया । चलचित्र गौथली युरोपेली मुलुकका दुई देशमा लाग्ने भएको छ । रोमानिया र पोर्चुगलमा प्रदर्शन हुने भएको हो ।
नेपालमा अत्यन्तै लोकप्रिय भएर सर्वाधिक व्यापार गर्न सफल भएको चलचित्र गौथली युरोपेली मुलुक रोमानियाको बुखारेष्टमा अगस्ट २३ र पोर्चुगलको राजधानी लिस्बनस्थित प्रतिष्ठित ‘सिनेमा आइडल’ हलमा अगस्ट ३०, ३१ र सेप्टेम्बर १ तारिख प्रदर्शन हुने भएको हो ।
नेपाली समुदायलाई लक्षित गरी चलचित्र प्रदर्शन गर्न लागिएको हो। ‘गौथली’को निर्देशन डा. कपिल रिजालले गरेका हुन् । चलचित्रले पारिवारिक तथा सामाजिक कथावस्तुलाई भावनात्मक शैलीमा प्रस्तुत गरेको छ ।
यही कारण विभिन्न उमेर समूहका दर्शकलाई चलचित्रले आकर्षित गर्न सफल भएको विश्लेषण गरिएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ र दर्शकको राम्रो प्रतिक्रियाले पनि चलचित्रको व्यापार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको मानिएको छ । नेपालमा चलचित्र साउन १ गतेदेखि प्रदर्शनमा आएको हो ।