रोमानिया । यूरोपेली मुलुक रोमानिया र सर्वियामा रहेका नेपालीको संख्या बढ्दै गएपछि ती मुलुक हेर्न नेपालले छुट्टै कूटनीतिक नियोग स्थापना गर्नुपर्ने आवाज संसदमा समेत उठेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा सो बिषयमा बहस भईरहेका बेला पूर्वअर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुनले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन् । यी दुई देशमा नेपालीको उपस्थिति पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ।
हाल रोमानियासम्बन्धी कूटनीतिक तथा कन्सुलर काम नेपालले जर्मनीस्थित नेपाली दूतावासमार्फत सम्हाल्दै आएको छ। ठूलो संख्यामा नेपाली रहेको अवस्थामा राहदानी, कागजात प्रमाणीकरण, श्रम तथा कानुनी समस्या र अन्य कन्सुलर सेवाका लागि स्थानीयस्तरमै नेपाली नियोग आवश्यक रहेको छ ।
गत मे ४ मा बुखारेस्टमा भएको नेपाल–रोमानिया पहिलो द्विपक्षीय परामर्श बैठकमा समेत रोमानियामा नेपालको कूटनीतिक नियोग खोल्ने विषय उठेको थियो। बैठकमा रोमानियाली पक्षले पनि नेपालले बुखारेस्टमा कूटनीतिक नियोग स्थापना गर्नुपर्ने महत्त्व औँल्याएको थियो।
यसै सन्दर्भमा रोमानिया र सर्वियालाई समेत हेर्ने गरी बुखारेस्ट वा क्षेत्रीय रूपमा प्रभावकारी स्थानमा नेपाली कूटनीतिक नियोग स्थापना गर्नुपर्ने माग थप बलियो बनेको छ। यस्तो नियोग स्थापना भएमा रोमानिया र सर्वियामा रहेका नेपालीले कूटनीतिक तथा कन्सुलर सेवा लिन टाढाको दूतावासमा निर्भर हुनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।