काठमाडौं । काठमाडौंको बाँसबारीमा बिहीबार राति गेस्ट हाउस सञ्चालन हुँदै आएको एउटा घर भासिएको छ।
बूढानीलकण्ठ नगरपालिका–३ मा रहेको उक्त घर साँझ करिब ८ बजे भासिएको हो।निरन्तरको वर्षापछि जमिन भासिन थालेपछि गेस्ट हाउस सञ्चालकहरूले केही दिनअघि नै घर खाली गरिसकेका थिए। त्यसैले घटनामा मानवीय क्षति हुनबाट जोगिएको वडाध्यक्ष प्रेम थापाले जानकारी दिए।घर भासिएपछि आसपासका अन्य घरसमेत जोखिममा परेका छन्। वडाध्यक्ष थापाका अनुसार भासिएको घरभन्दा केही तल खहरे बग्ने भएकाले वर्षायाममा खहरे उर्लिँदा भिरालो जमिन कटान हुँदै आएको थियो।खहरेको कटान रोक्न अघिल्लो वर्ष नै पर्खाल निर्माण गर्ने प्रयास गरिए पनि विवादका कारण काम अघि बढ्न नसकेको वडाध्यक्ष थापाले बताए। उनका अनुसार उक्त क्षेत्रमा विश्व हिन्दु महासंघको कार्यालयसमेत रहेकाले संस्थाले मुद्दा दायर गरेपछि अदालतले तत्कालका लागि पर्खाल निर्माण रोक्न आदेश दिएको थियो।घर भासिएपछि थप क्षति हुन नदिन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले भासिएको भागलाई त्रिपालले छोपेको छ। स्थानीय तहले जोखिममा रहेका आसपासका घर तथा जमिनको अवस्थाबारे थप निगरानी गरिरहेको जनाएको छ।