काठमाडौं । हिमाली जिल्ला ताप्लेजुङ अब राजधानी काठमाडौंसँग अत्याधुनिक बस सेवामार्फत जोडिएको छ ।
जय पाथीभरा माता एसी बस सेवा प्रालिले बिहीबारदेखि ताप्लेजुङ–काठमाडौं नियमित बस सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।कम्पनीले ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर, सिन्धुली भएर काठमाडौंसम्मका लागि ६ वटा सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जनाएको छ ।पाथीभरा दर्शनका लागि आउने धार्मिक पर्यटक तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्र भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी बस सेवा सुरु गरिएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले बताए ।बसमा यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकता दिइएको सञ्चालक जंग सुनुवारले जानकारी दिए । उनका अनुसार बसमा सीसी क्यामेरा, निःशुल्क वाइफाई, मोबाइल चार्जिङ, एसी तथा फोल्डिङ लक्जरी सिटको व्यवस्था गरिएको छ ।
यात्राका क्रममा सम्भावित जोखिम न्यूनीकरण गर्न बसमा सिट बेल्टको समेत व्यवस्था गरिएको काउन्टर इन्चार्ज दिनेश खतिवडाले बताए । बसभित्र सीसी क्यामेरामार्फत यात्रु तथा उनीहरूका सामानको निगरानी गरिने भएकाले सुरक्षित र सहज यात्रा गर्न सकिने उनको भनाइ छ ।नयाँ बस सेवा सञ्चालनमा आएसँगै ताप्लेजुङ–काठमाडौं आवतजावत गर्ने विद्यार्थी, स्थानीय बासिन्दा तथा पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको सञ्चालक सुनुवारले बताए ।ताप्लेजुङको पर्यटन प्रवद्र्धनसँगै राजधानीसँगको यातायात पहुँचलाई थप सहज बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाले पाथीभरा र कञ्चनजंघा क्षेत्र भ्रमणमा आउने पर्यटकका लागि समेत यात्रा सहज बनाउने अपेक्षा गरिएको छ ।