काठमाडौं । लामो समयदेखि स्थगित रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
यात्रुको माग बढेपछि बुद्ध एयरले यो रुटमा पुनः नियमित उडान सुरु गर्न लागेको हो।बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार पछिल्लो समय नेपालगञ्ज–पोखरा रुटमा यात्रुको चाप बढ्दै गएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। कम्पनीले गत जेठ ५ गतेदेखि यो रुटको उडान स्थगित गरेको थियो।शाहका अनुसार नेपालगञ्ज–पोखरा उडानले भारतको उत्तर प्रदेश क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्ने भएकाले धार्मिक तथा पर्यटन गतिविधिका दृष्टिले यसको विशेष महत्त्व छ। यसअघि भारतीय धार्मिक पर्यटकको आवागमन घट्नु र सञ्चालन खर्च बढ्नुका कारण उडान रोकिएको थियो। अहिले पर्यटकको आगमन बढ्न थालेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको उनले बताए।बुद्ध एयरले यो रुटमा आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्ने तालिका बनाएको छ। कम्पनीले यात्रुका लागि टिकट बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
बुद्ध एयरले पहिलोपटक २०७८ साउन १७ गते नेपालगञ्ज–पोखरा हवाई सेवा सुरु गरेको थियो। सेवा पुनः सञ्चालन हुने भएपछि पश्चिम नेपालका पर्यटन व्यवसायीहरू पनि उत्साहित भएका छन्।पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज–पोखरा हवाई सेवाले पश्चिम नेपाल तथा भारतीय पर्यटकलाई पोखरासँग प्रत्यक्ष जोड्ने भएकाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।उडान पुनः सञ्चालन भएपछि बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका यात्रुलाई पोखरा पुग्न सहज हुने अपेक्षा गरिएको छ। साथै पोखरा, मुस्ताङ, बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक तथा पर्यटकीय गन्तव्यमा आवतजावत गर्न पनि यात्रुलाई थप सुविधा पुग्ने व्यवसायीहरूको विश्वास छ।