काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना फैलाउँदै सुरक्षित र सभ्य समाज निर्माण गर्ने उद्देश्यले सरकारले यस वर्षको मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ।
आगामी भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। प्रविधिको पहुँच र प्रयोग बढेसँगै मानव बेचबिखन तथा ओसारपसारका नयाँ–नयाँ माध्यम र शैली विकास भइरहेकाले यस वर्ष प्रविधिको सुरक्षित प्रयोग तथा डिजिटल सजगतामा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ।
विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी तथा वैदेशिक रोजगारीको नाममा दिइने झुटा आश्वासन, ठगी र शोषणबाट नागरिकलाई सुरक्षित राख्न डिजिटल माध्यमको जिम्मेवार प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य नाराले समेटेको छ। दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा रोकथाम, पीडितको संरक्षण र पुनःस्थापना तथा सम्बन्धित निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सन्देश प्रवाह गरिने मन्त्रालयले जनाएको छ। मानव बेचबिखन नियन्त्रण सरकारको मात्रै जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले यसको नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको मन्त्रालयले जनाएको छ।