काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न गठित समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएका छन्।
दुवै घटनाको स्थलगत अध्ययन तथा छानबिनपछि समितिहरूले मंगलबार गृहमन्त्री सुधन गुरुङसमक्ष प्रतिवेदन पेस गरेका हुन्।गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार दुवै समितिबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्ष र सिफारिसमाथि अहिले मन्त्रालयले अध्ययन गरिरहेको छ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो। उक्त घटनाले केही समय तनावको अवस्था सिर्जना गरेको थियो भने त्यसको प्रभाव मधेस प्रदेशका केही क्षेत्रमा समेत परेको थियो।झडपका क्रममा गोली लागेर तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहता रहेका थिए।घटनाको वास्तविक अवस्था, कारण तथा त्यसबाट उत्पन्न परिस्थितिबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।
त्यस्तै, सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।घटनापछि सरकारले गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छुट्टै छानबिन समिति गठन गरेको थियो। समितिले स्थलगत अध्ययनसँगै घटनाका विभिन्न पक्षबारे अनुसन्धान गरी निष्कर्ष र सिफारिससहित प्रतिवेदन तयार पारेको हो।गृह मन्त्रालयका अनुसार दुवै प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसको अध्ययनपछि सरकारले आवश्यक कदम चाल्नेछ।