काठमाडौं ।भीमफेदीमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार बिहान भीमफेदी गाउँपालिका–६, जुरिखेतमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो।दुर्घटनामा घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेकी उनको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको थियो।तर, उपचारकै क्रममा बिहान साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए।
लक्ष्मी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्।दुर्घटनाका बेला गाडीमा वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। दुर्घटनापछि न्यायाधीश डाँगी, लक्ष्मी बडू, उनका छोरा रितेन्द्र तथा छोरी रितालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।यस्तै, रजिस्ट्रार तारादत्त बडू र गाडी चालक छुनिलाल चौधरीको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते अन्यको उपचार जारी रहेकै अवस्थामा लक्ष्मीको मृत्यु भएपछि भीमफेदी दुर्घटनामा थप दुःखद घटना भएको हो।