काठमाडौं । प्रतिनिधिसभाले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले समर्थन जनाएका हुन्।यसअघि साउन २६ गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि विधेयकमाथि निर्णय हुन सकेको थिएन। त्यसपछि सोमबारको बैठकमा सभामुख अर्यालले सोही प्रस्ताव पुनः निर्णयार्थ प्रस्तुत गरेका थिए।सभामुखले ध्वनि मतमार्फत प्रस्तावमाथि सदस्यहरूको राय माग्दा बहुमत सांसदले ‘हुन्छ’ पक्षमा समर्थन जनाए। बहुमत सदस्यको समर्थन प्राप्त भएपछि सभामुख अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरे।प्रस्ताव पारित भएसँगै अब खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि दफावार छलफल तथा संशोधन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।विधेयकमाथि आगामी चरणमा सांसदहरूले विभिन्न दफामा छलफल गर्दै आवश्यक संशोधनका प्रस्तावसमेत अघि बढाउन सक्नेछन्।