काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी दोस्रो अभ्यास अदालत प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ।
क्याम्पसले एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीलाई समूह दर्ता गर्न आह्वान गरेको छ। क्याम्पसका अनुसार प्रतियोगिता भदौ १८, १९ र २० गते सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने समूहले भदौ ४ गतेभित्र गुगल फर्ममार्फत अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्नेछ।
प्रतियोगिताका लागि बहस नोट बुझाउने मिति भदौ १५ र १६ गते तोकिएको छ भने मुद्दा विवरण तथा नियम भदौ २ गते उपलब्ध गराइने क्याम्पसले जनाएको छ। त्यस्तै, बहससम्बन्धी कार्यक्रम भदौ १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा चार जनाको प्रतिस्पर्धी समूह बनाएर दर्ता गर्नुपर्नेछ। प्रत्येक सहभागीको नाम फारममा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। अभ्यास अदालतको मुद्दा विवरण भदौ २ गते प्रकाशित गरिने तथा बहससम्बन्धी नियम र अन्य आवश्यक जानकारी बहस नोट बुझाउनुअघि उपलब्ध गराइने जनाइएको छ।
क्याम्पसका अनुसार नेपाल ल क्याम्पसमा अध्ययनरत बी.ए.एलएल.बी. र एलएल.बी. तहका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
अपाङ्गता भएका व्यक्तिको अधिकार, न्यायमा पहुँच र कानुनी संरक्षणसम्बन्धी विषयमा विद्यार्थीको अध्ययन, अनुसन्धान तथा बहस क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। नेपालको प्रचलित कानुनले पनि अपाङ्गता भएका व्यक्तिलाई समान आधारमा न्यायमा पहुँच तथा निःशुल्क कानुनी सहायताको अधिकार सुनिश्चित गरेको छ।
नेपाल ल क्याम्पसले प्रतियोगितासम्बन्धी थप जानकारीका लागि सूचनामा उपलब्ध गराइएका सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। क्याम्पसको आधिकारिक वेबसाइटमा समेत नियमित रूपमा सूचनाहरू प्रकाशित हुँदै आएका छन्।