काठमाडौँ । अमेरिकामा अध्ययनका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थीले पढाइसँगै रोजगारी गर्न पाउने व्यवस्था भए पनि त्यसका लागि अध्यागमनसम्बन्धी निश्चित नियम र सर्त पूरा गर्नुपर्ने हुन्छ।
अमेरिकी सरकारका अनुसार एफ–१, एम–१ र जे–१ भिसामा रहेका विद्यार्थीले आफ्नो भिसा तथा अध्ययन कार्यक्रमले तोकेको सीमाभित्र रहेर मात्र काम गर्न पाउँछन्। विशेषगरी विद्यार्थीको रोजगारी क्याम्पसभित्र वा अध्ययनसँग सम्बन्धित स्वीकृत कार्यक्रमअन्तर्गत हुनुपर्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय विद्यार्थीले रोजगारी गर्दा मुख्यतः तीनवटा विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। पहिलो, क्याम्पसभित्र काम गर्ने व्यवस्था। एफ–१ भिसामा रहेका विद्यार्थीले क्याम्पसभित्र रोजगारी गर्न सक्छन्। तर यसका लागि तोकिएको योग्यता पूरा गर्नुका साथै अध्ययन अवधिमा काम गर्ने समयसम्बन्धी सीमासमेत पालना गर्नुपर्छ।
दोस्रो, क्याम्पसभन्दा बाहिर काम गर्न पूर्वस्वीकृति आवश्यक हुन्छ। विद्यार्थीले क्याम्पसभन्दा बाहिर गएर आफूखुसी रोजगारी गर्न पाउँदैनन्। पाठ्यक्रमसँग सम्बन्धित प्रायोगिक तालिम अर्थात् सीपीटी तथा अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपीटी) जस्ता स्वीकृत कार्यक्रममार्फत मात्रै यस्तो रोजगारी गर्न सकिने व्यवस्था छ। तेस्रो, ओपीटीअन्तर्गतको काम अध्ययनसँग सम्बन्धित हुनुपर्छ। ओपीटी विद्यार्थीको अध्ययन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित अस्थायी रोजगारीको व्यवस्था हो। त्यस्तै, योग्य एसटीईएम विषयका विद्यार्थीले नियमित ओपीटीपछि थप २४ महिनासम्म एसटीईएम ओपीटी विस्तारको सुविधा पाउन सक्छन्।
अमेरिकी अध्यागमन नियमअनुसार अनुमति नलिई काम गर्नु विद्यार्थीको कानुनी स्टाटसका लागि गम्भीर समस्या बन्न सक्छ। यस्तो अवस्थामा विद्यार्थीको भिसा तथा अमेरिकामा बस्ने कानुनी अवस्थामै असर पर्न सक्ने भएकाले रोजगारी सुरु गर्नुअघि सम्बन्धित शैक्षिक संस्थाका अधिकारीसँग आवश्यक अनुमति र नियमबारे स्पष्ट जानकारी लिन अमेरिकी सरकारले सुझाव दिएको छ। त्यसैले अमेरिकामा अध्ययनरत वा अध्ययनका लागि जाने अन्तर्राष्ट्रिय विद्यार्थीले ‘पढाइसँगै काम गर्न पाइन्छ’ भन्ने सामान्य बुझाइका आधारमा मात्र रोजगारी सुरु नगरी आफ्नो भिसा, अध्ययन कार्यक्रम र काम गर्ने अनुमति सम्बन्धी नियम पहिले नै बुझ्न आवश्यक छ।