काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्दै शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन नयाँ पाठ्यक्रम र विद्यालय शिक्षा ऐन ल्याउने तयारी अघि बढाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पाठ्यक्रम निर्माण गर्दा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सबै पक्षको सुझावलाई समेटिने बताएका छन्। उनले पाठ्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालालाई रचनात्मक सुझाव दिन आग्रह गरेका छन्।मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षासँग जोडिएका समस्या समाधान गर्न विद्यालय शिक्षा ऐन पनि छिट्टै ल्याउने तयारी भइरहेको छ। ऐन कार्यान्वयनमा आएपछि विद्यालय तहमा देखिएका विभिन्न समस्या समाधान गर्न सहज हुने सरकारको अपेक्षा छ।कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले नेपालको शिक्षा प्रणाली सुधारका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। उनले शैक्षिक रूपमा मधेस प्रदेश अझै पछाडि रहेको भन्दै शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए।विद्यालय तहदेखि नै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। त्यसका लागि प्रदेश सरकारले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए।
यस्तै, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठन गरिएको कार्यदलले काम गरिरहेको जानकारी दिए।