काठमाडौं । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्ने सपना अधुरै रहने अवस्थामा पुगेकी मकवानपुरकी सीमाना चेपाङले अब काठमाडौंमा आईटी पढ्ने अवसर पाउने भएकी छन्।
मिर्गौला रोगसँग संघर्ष गरिरहेका उनका बुबा रामकृष्ण चेपाङको आर्थिक अवस्थाका कारण छोरीको पढाइ अघि बढाउन कठिन भइरहेको बेला डा. सुनील शर्माले उनको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्। मकवानपुरको राक्सिराङ गाउँपालिका–८ निवासी रामकृष्ण चेपाङको मिर्गौला फेल भएपछि साथीभाइको सहयोगमा प्रत्यारोपण गरिएको थियो। आफ्नै स्वास्थ्य उपचार र परिवारको जिम्मेवारीबीच चार सन्तानको भविष्यको चिन्ता गरिरहेका रामकृष्णका लागि छोरीलाई उच्च शिक्षा पढाउनु ठूलो चुनौती बनेको थियो।
यही क्रममा मकवानपुर पुगेका डा. शर्माले रामकृष्ण र उनकी छोरी सीमानासँग भेट गरे। आर्थिक अभावका कारण पढाइ अघि बढाउन नसकेको अवस्था थाहा पाएपछि उनले सीमानालाई काठमाडौं ल्याएर आईटी विषयमा उच्च शिक्षा पढाउने जिम्मेवारी लिएका हुन्। डा. शर्माका अनुसार सीमानालाई काठमाडौंस्थित टेक्सास कलेजमा आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईसम्बन्धी विषय अध्ययन गर्ने व्यवस्था मिलाइनेछ। कलेजबाट पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने र करिब तीन लाख २० हजार रुपैयाँ बराबरको खर्च आफूहरूले बेहोर्ने उनले बताएका छन्। बाँकी करिब सात लाख रुपैयाँ कलेजले बेहोर्ने जनाइएको छ।
पढाइसँगै रोजगारीको अवसर मिलाएर सीमाना आत्मनिर्भर बन्न सक्ने वातावरण बनाउने योजना पनि अघि सारिएको छ। चार वर्षको अध्ययन पूरा गरेर दक्ष जनशक्ति बन्न र भविष्यमा आफूजस्तै आर्थिक अभावमा रहेका बालबालिकालाई सहयोग गर्न शर्माले उनलाई हौसला दिएका छन्। मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको उल्लेख्य बसोबास छ। आर्थिक कठिनाइका कारण शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच नपाउने परिवारका लागि यस्तो सहयोगले उच्च शिक्षा हासिल गर्ने अवसर सिर्जना गर्न सक्छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएका डा. शर्माले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको विवरण पनि सार्वजनिक भएको छ। आर्थिक अभावका कारण छोरीको पढाइ रोकिएला भन्ने चिन्तामा रहेका रामकृष्णका लागि यो सहयोग नयाँ आशा बनेको छ। अब सीमानाले काठमाडौंमा अध्ययन गरेर आफ्नो भविष्य निर्माण गर्ने अवसर पाउनेछिन्। आर्थिक अवस्थाले रोक्न लागेको उनको शैक्षिक यात्रालाई अघि बढाउने बाटो खुलेको छ।