काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय शिक्षा अवार्डको फाइनलमा नेपाली युवा कुशल पौडेल छनोट भएका छन्।
भिक्टोरिया सरकारको अन्तर्राष्ट्रिय शिक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिने भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा अवार्ड–२०२६ को ‘उदीयमान नेतृत्व–अन्तर्राष्ट्रिय पूर्वविद्यार्थी’ विधामा पौडेल फाइनलमा पुगेका हुन्। उनी यस वर्षको उक्त विधामा छनोट हुने एकमात्र नेपाली रहेको बताइएको छ। पश्चिम नेपालको बर्दियाबाट अष्ट्रेलिया पुगेका पौडेलले सन् २०१८ मा नर्सिङ अध्ययन सुरु गरेका थिए। सन् २०२१ देखि भिक्टोरियाको बलाराटलाई आफ्नो कर्मथलो बनाएका उनले अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयको बलाराट क्याम्पसबाट सन् २०२३ मा नर्सिङमा स्नातक पूरा गरेका हुन्। अध्ययनपछि उनले स्वास्थ्य क्षेत्रमा काम सुरु गरेका थिए। दर्ता प्राप्त नर्सका रूपमा सेन्ट जोन अफ गड बलाराटमा काम गरेका पौडेल त्यसपछि वृद्ध हेरचाह तथा स्वास्थ्य सेवाका विभिन्न संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै नेतृत्व तहसम्म पुगे।
क्षेत्रीय क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव देखेपछि उनले आफ्नै स्वास्थ्य जनशक्ति आपूर्ति गर्ने संस्था पनि स्थापना गरेका छन्। ‘बेस्ट नर्सिङ एजेन्सी’ नामक उक्त संस्थाले भिक्टोरियाका विभिन्न स्वास्थ्य सेवा प्रदायकलाई नर्स, व्यक्तिगत हेरचाह तथा अपांगता सहायता कर्मचारीलगायत जनशक्ति उपलब्ध गराउँदै आएको छ। हाल उक्त संस्थामा २५ जना क्याजुअल तथा पार्टटाइम कर्मचारी कार्यरत छन्। तीमध्ये १५ जना अन्तर्राष्ट्रिय विद्यार्थी रहेको बताइएको छ। यसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनसँगै स्थानीय रोजगारी र कार्य अनुभवको अवसरसमेत दिएको छ। स्वास्थ्य क्षेत्रमा मात्र नभई पौडेल नेपाली समुदायलाई एकताबद्ध गर्न पनि सक्रिय छन्। उनी बलाराट नेपाली फुटबल क्लबका संस्थापक अध्यक्ष हुन्। बलाराट क्षेत्रमा नेपाली समुदायको पहिलो औपचारिक फुटबल क्लबका रूपमा स्थापना गरिएको उक्त क्लबले विभिन्न फुटबल प्रतियोगिता, बालबालिकाका कार्यक्रम तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ।
पौडेलको नेतृत्वमा क्लबले अहिलेसम्म ६ वटा क्षेत्रीय प्रतियोगिता आयोजना गरिसकेको छ। त्यस्तै, भिक्टोरियाका विभिन्न स्थानबाट युवा तथा भेट्रान टोली सहभागी भएको विशेष प्रतियोगितामा करिब २ हजार ५०० जनाको सहभागिता रहेको बताइएको छ। उनले पोडकास्टमार्फत पनि भिक्टोरियामा बहुसांस्कृतिकता, नेपाली समुदाय तथा नेपालमा भइरहेका सामाजिक गतिविधिबारे छलफल गर्दै आएका छन्। भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा अवार्डले भिक्टोरियामा अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा पूर्वविद्यार्थीले शिक्षा, व्यवसाय र समुदायमा पुर्याएको योगदानलाई सम्मान गर्छ। यस वर्ष विभिन्न सात विधामा २२ जना फाइनलिस्ट छनोट भएका छन्।‘उदीयमान नेतृत्व–अन्तर्राष्ट्रिय पूर्वविद्यार्थी’ विधामा पौडेलसँगै अन्य दुई जना पनि फाइनलमा पुगेका छन्। अवार्डका विजेताको घोषणा सेप्टेम्बर २०२६ मा हुने आधिकारिक समारोहमा गरिनेछ। पौडेलले अष्ट्रेलियामा अध्ययन गर्न आउने नयाँ पुस्तालाई अध्ययनसँगै समुदायमा जोडिन र आफूले पाएको अवसरलाई समाजमा फर्काउन आग्रह गरेका छन्। उनका अनुसार अध्ययन सुरुवात मात्र हो। विद्यार्थीले अध्ययनकै क्रममा समुदायमा जोडिने, स्वयंसेवा गर्ने र नयाँ काम सुरु गर्ने अवसर खोज्नुपर्छ।