काठमाडाैँ । अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ।
नयाँ व्यवस्थासँगै अस्ट्रेलिया प्रवेश गर्न मात्रै होइन, पुगेपछि भिसा थप्ने, पटक–पटक कलेज वा कोर्स परिवर्तन गर्ने तथा पछि परिवारलाई बोलाउने प्रक्रियासमेत पहिलेको तुलनामा कठिन भएको छ। २ अक्टोबर २०२६ देखि लागू भएको नयाँ नियमअनुसार अस्ट्रेलियाभित्रै बसेर विद्यार्थी भिसाका लागि आवेदन दिन खोज्ने अधिकांश अस्थायी भिसाधारीले अब देशबाहिरबाट आवेदन गर्नुपर्नेछ। विद्यार्थी भिसामै रहेका व्यक्तिले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा पनि धेरै अवस्थामा यही व्यवस्था लागू हुनेछ। यसको अर्थ, अस्ट्रेलिया पुगेपछि अध्ययनको तह वा विषय परिवर्तन गरेर देशभित्रै बसेर नयाँ विद्यार्थी भिसा लिने सुविधा धेरै विद्यार्थीका लागि अब उपलब्ध हुने छैन। नयाँ भिसा आवेदन दिने व्यक्ति भिसा स्वीकृत हुँदासमेत अस्ट्रेलियाबाहिरै रहनुपर्ने व्यवस्था गरिएको छ। तर सबै विद्यार्थीका लागि भने यो नियम समान रूपमा लागू हुँदैन। अध्ययन पूरा गर्न थप १२ महिना आवश्यक पर्ने विद्यार्थी, विद्यावारिधि अध्ययनमा जाने, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित विद्यार्थी, विद्यालय तहका विद्यार्थी लगायत केही विशेष अवस्थालाई छुट दिइएको छ। शिक्षा प्रदायककै समस्या वा संस्थागत कारणले अध्ययन प्रभावित भएका केही विद्यार्थीले पनि छुट पाउन सक्नेछन्।
परिवार पछि बोलाउने बाटो पनि साँघुरियो
नयाँ व्यवस्थाले विद्यार्थीको परिवारलाई अस्ट्रेलिया लैजाने प्रक्रियामा पनि ठूलो परिवर्तन गरेको छ। अब अधिकांश विद्यार्थीले विद्यार्थी भिसाको आवेदन दिँदा श्रीमान्, श्रीमती वा आश्रित सन्तानलाई समावेश गर्न पाउने छैनन्। विद्यार्थी भिसा स्वीकृत भएपछि परिवारलाई ‘सब्सिक्वेन्ट इन्ट्रेन्ट’मार्फत पछि बोलाउने पुरानो व्यवस्था पनि सामान्य अवस्थामा हटाइएको छ। यसअघि विद्यार्थी पहिले अस्ट्रेलिया जाने र पछि त्यही विद्यार्थी भिसाका आधारमा परिवारलाई बोलाउने अभ्यास थियो। नयाँ नियमपछि यो बाटो अधिकांश अवस्थामा बन्द भएको छ। यद्यपि विद्यावारिधि, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित अध्ययन, विदेशी सरकारी छात्रवृत्ति तथा योग्य प्रशान्त र आसियान क्षेत्रका विद्यार्थीका लागि केही अपवाद राखिएको छ। अस्ट्रेलियामै परिवार रहेका केही विद्यार्थीले पनि निश्चित परिस्थितिमा परिवारलाई समावेश गर्न सक्नेछन्।
‘कोर्स हपिङ’ नियन्त्रणमा सरकार
अस्ट्रेलियाले विद्यार्थी भिसा मात्रै होइन, विद्यार्थीले अस्ट्रेलिया पुगेपछि कलेज तथा कोर्स परिवर्तन गर्ने प्रवृत्तिमाथि पनि निगरानी बढाएको छ। २ अक्टोबरदेखि गैरविद्यालय क्षेत्रमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले एउटै शिक्षा प्रदायकको मुख्य कोर्समा कम्तीमा १२ महिना पूरा नगरी अर्को प्रदायकमा जान पाउने अवधि अस्थायी रूपमा बढाइएको छ। यो व्यवस्था ३० जुन २०२७ सम्म लागू हुनेछ। त्यसपछि १ जुलाई २०२७ देखि पुनः ६ महिनाको प्रावधान लागू हुने बताइएको छ।
त्यसपछि २०२७ को मध्यदेखि नयाँ विद्यार्थी भिसा ‘ट्रान्सफर स्ट्रिम’ ल्याउने अस्ट्रेलियाको तयारी छ। यसको मुख्य उद्देश्य अस्ट्रेलिया पुगेपछि कम तह वा कम गुणस्तरका कोर्समा सर्दै विद्यार्थी भिसाको अवधि लम्ब्याउने प्रवृत्ति रोक्नु हो। अर्थात्, अस्ट्रेलियाको निगरानी अब विद्यार्थी वास्तविक रूपमा अध्ययनका लागि आएको हो कि होइन भन्नेमा मात्रै सीमित छैन। उसले कुन कोर्स रोज्यो, किन शिक्षा प्रदायक परिवर्तन गर्यो र अध्ययनलाई भिसा अवधि लम्ब्याउने माध्यम त बनाएको छैन भन्ने विषयमा समेत ध्यान दिइँदैछ।
एउटा पाठ्यक्रममै नयाँ भर्ना रोकियो
नयाँ नियम लागू भएको केही समयमै अस्ट्रेलियाले अर्को कडा निर्णय पनि गरेको छ। ‘ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट (लर्निङ)’ नामक पाठ्यक्रममा ५ अक्टोबरदेखि नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक्ने निर्णय गरिएको छ।सरकारका अनुसार उक्त पाठ्यक्रममा विद्यार्थी भर्ना तथा संस्थागत गतिविधिसँग सम्बन्धित गम्भीर र प्रणालीगत भिसा इमानदारीसम्बन्धी समस्या देखिएको थियो। तर यसअघि नै अध्ययन गरिरहेका विद्यार्थीलाई भने आफ्नो पाठ्यक्रम पूरा गर्न दिइनेछ। सरकारले भर्ना रोक्ने समयसीमा छल्न केही शिक्षा प्रदायकले प्रयास गरेको दाबीसमेत गरेको छ। सरकारी विवरणअनुसार १,३०० भन्दा बढी नयाँ ‘कन्फर्मेसन अफ इनरोलमेन्ट’ जारी गरिएको थियो भने १,५०० भन्दा बढी विद्यार्थीको अध्ययन सुरु हुने मिति अगाडि सारिएको थियो।
नेपाली विद्यार्थीलाई किन असर पर्न सक्छ ?
अस्ट्रेलियाले ल्याएको यो परिवर्तन नेपाली विद्यार्थीका लागि पनि महत्वपूर्ण छ। अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार सन् २०२४–२५ मा नेपाली नागरिकलाई ३१ हजार ८६९ विद्यार्थी भिसा प्रदान गरिएको थियो। यो अस्ट्रेलियाले सो अवधिमा जारी गरेको कुल विद्यार्थी भिसाको ८.६ प्रतिशत हो। विद्यार्थी भिसा पाउने देशमध्ये नेपाल तेस्रो स्थानमा थियो। त्यस्तै, जुन २०२६ सम्मको अस्ट्रेलियाली शिक्षा विभागको तथ्यांकअनुसार त्यहाँ अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालीको हिस्सा करिब ९ प्रतिशत थियो।
यसबीच अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको कुल भर्ना अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले घटेको थियो भने नयाँ विद्यार्थीको संख्या पनि ९ प्रतिशतले कम भएको थियो। त्यसैले नयाँ भिसा नियमले नेपाली विद्यार्थीको अध्ययन योजना मात्र होइन, आर्थिक तयारी, परिवारसँगको बसाइँ र भविष्यको बसाइँसराइ योजनासमेत प्रभावित पार्न सक्ने देखिन्छ। सिड्नीका रजिस्टर्ड माइग्रेसन एजेन्ट निरज श्रेष्ठका अनुसार नयाँ व्यवस्था विशेषगरी अस्ट्रेलियामै बसेर अर्को विद्यार्थी भिसा लिन खोजिरहेका तथा अध्ययनको तह वा विषय परिवर्तन गर्ने तयारीमा रहेका विद्यार्थीका लागि महत्वपूर्ण छ। उनका अनुसार नयाँ प्रक्रियाका कारण केही विद्यार्थीले भिसा आवेदनका लागि अस्ट्रेलियाबाहिर जानुपर्ने हुन सक्छ। यसले हवाई यात्रा, बसाइँ तथा आवेदनसँग जोडिएका थप खर्च बढाउन सक्छ। परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीले भने आफू कुन अपवादभित्र पर्छु भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। श्रेष्ठका अनुसार नयाँ व्यवस्थाको मुख्य उद्देश्य वास्तविक अध्ययनभन्दा भिसा र बसाइँलाई प्राथमिकता दिने ‘भिसा हपिङ’ तथा ‘कोर्स हपिङ’ नियन्त्रण गर्नु हो। तर यसले वास्तविक विद्यार्थीलाई समेत असर पार्न सक्ने भएकाले आवेदन दिनुअघि आफ्नो अवस्था र लागू हुने छुटबारे स्पष्ट जानकारी लिन आवश्यक रहेको उनी बताउँछन्।
विद्यार्थीले अब के कुरामा ध्यान दिने ?
नयाँ नियमपछि अस्ट्रेलियामा अध्ययनका लागि जाने निर्णय पहिलेभन्दा बढी योजनाबद्ध बनाउनुपर्ने भएको छ। अस्ट्रेलिया पुगेपछि पुनः विद्यार्थी भिसा आवश्यक पर्न सक्छ कि सक्दैन, कलेज वा कोर्स परिवर्तन गर्नुपर्ने सम्भावना कति छ, भविष्यमा परिवारलाई बोलाउने योजना छ कि छैन र आफू नयाँ नियमका कुनै अपवादमा पर्छु कि पर्दिनँ भन्ने कुरा विद्यार्थीले आवेदन दिनुअघि नै बुझ्नुपर्नेछ। अस्ट्रेलियाको गृह मामिला विभागले गलत स्थानबाट गरिएको आवेदन अमान्य हुन सक्ने र त्यसले भविष्यको भिसा प्रक्रियामा समेत असर पार्न सक्ने चेतावनी दिएको छ। त्यसैले शिक्षा प्रदायक वा एजेन्टको मौखिक जानकारीमा मात्रै निर्भर नभई आधिकारिक नियम र आफ्नो अवस्थाअनुसार प्रक्रिया बुझेर अघि बढ्नुपर्ने देखिन्छ। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पूर्ण रूपमा रोक्न खोजेको होइन। तर विद्यार्थी भिसामार्फत अस्ट्रेलिया प्रवेश गरेपछि अध्ययनभन्दा बाहिरका माध्यमबाट बसाइँ लम्ब्याउने सम्भावनालाई भने क्रमशः नियन्त्रण गर्न खोजेको पछिल्ला नियमहरूले देखाएका छन्।