काठमाडौं । दक्षिण कोरियामा अध्ययन गर्न जाने तयारीमा रहेका नेपाली विद्यार्थीका लागि शैक्षिक कागजात प्रमाणीकरणसम्बन्धी अपोइन्टमेन्ट तत्कालका लागि बन्द भएको छ।
दक्षिण कोरियास्थित नेपाली दूतावासले सन् २०२६ का लागि उपलब्ध सबै अपोइन्टमेन्ट बुक भइसकेकाले यस वर्ष थप आवेदन नलिने स्पष्ट पारेको छ। दूतावासले अक्टोबर २६ मा जारी गरेको पुनःसूचनाअनुसार सन् २०२६ का लागि शैक्षिक कागजात प्रमाणीकरण गर्न नयाँ अपोइन्टमेन्ट उपलब्ध हुने छैनन्। अब सन् २०२७ को शरद् सत्र (फल २०२७) का लागि अपोइन्टमेन्ट पुनः खुल्नेबारे सन् २०२७ को सुरुवातमा आधिकारिक वेबसाइटमार्फत जानकारी दिइनेछ।
दूतावासले यसअघि सन् २०२७ का लागि विद्यार्थी भिसा आवेदकको अनुमानित संख्या बुझ्न गरेको सर्वेक्षणलाई सन् २०२६ मा थप आवेदन स्वीकार गर्ने प्रक्रियाका रूपमा नबुझ्न पनि आग्रह गरेको छ। त्यस्तै, विश्वविद्यालयमार्फत शैक्षिक कागजात प्रमाणीकरणका लागि उपलब्ध गराइँदै आएको विशेष सामूहिक आवेदन सेवा पनि बन्द गरिएको दूतावासले जनाएको छ। उक्त सेवा सन् २०२६ अप्रिल १७ मै बन्द गरिएको सूचनामा उल्लेख छ। दूतावासले अपोइन्टमेन्टसम्बन्धी गलत वा भ्रामक सूचना फैलाउने व्यक्ति तथा संस्थामाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। सन् २०२७ को वसन्त सत्रका लागि भिसा आवेदन तालिकाबारे भने छुट्टै सूचना जारी गरिने जनाइएको छ। दक्षिण कोरिया जाने तयारीमा रहेका विद्यार्थीलाई आधिकारिक सूचनामात्र विश्वास गर्न र नयाँ अपोइन्टमेन्ट खुल्ने जानकारीका लागि दूतावासको वेबसाइट नियमित रूपमा हेर्न आग्रह गरिएको छ।