काठमाडौं । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा समस्या देखिएपछि सरकारले होटल तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमनलाई तीव्रता दिएको छ।
यही क्रममा काठमाडौंस्थित पाँचतारे होटल र्याडिसनमा गरिएको अनुगमनका क्रममा ठूलो संख्यामा ग्यास सिलिन्डर भेटिएपछि सरकारले कारबाहीको चेतावनी दिएको छ। उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमको संयुक्त टोलीले बिहीबार होटल र्याडिसनमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा नेपाल ग्यासका ११७ र एसटिसी ग्यासका ६७ गरी कुल १८४ वटा सिलिन्डर रहेको पाइएको मन्त्रालयले जनाएको छ। तीमध्ये करिब ७० वटा सिलिन्डर होटलका चुलोमा प्रयोग भइरहेको बताइएको छ। मन्त्रालयले ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको भन्दै आवश्यक कारबाहीको तयारी थालेको जनाएको छ।
तर होटल तथा व्यावसायिक प्रतिष्ठानले एकपटकमा कति ग्यास मौज्दात राख्न पाउने भन्ने विषयमा भने स्पष्ट कानुनी सीमा तोकिएको छैन। यही कारण सरकारले १८४ वटा सिलिन्डरलाई कसरी ‘अनावश्यक भण्डारण’ मानेको हो भन्ने प्रश्नसमेत उठेको छ।व्यवसायीहरूका अनुसार ठूला होटलमा दैनिक करिब ७० देखि १०० वटासम्म सिलिन्डर खपत हुन सक्छ। आपूर्ति नियमित नहुँदा सम्भावित अभावलाई ध्यानमा राखेर होटलहरूले सामान्यतया केही दिनदेखि एक सातासम्मको आवश्यकताका लागि ग्यास मौज्दात राख्ने गरेका छन्।
उपभोक्ता अधिकारका विषयमा वकालत गर्दै आएका अधिवक्ता तथा पत्रकार लिलानाथ घिमिरेले स्पष्ट नियम नै नभएको अवस्थामा होटलले ग्यास लुकाएको निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन्। उनका अनुसार होटल पनि ग्यासको उपभोक्ता भएकाले मौज्दातकै आधारमा कारबाहीको चेतावनी दिनुअघि स्पष्ट मापदण्ड आवश्यक हुन्छ। सरकारले भने बजारमा ग्यासको अभाव देखिएका बेला होटल तथा व्यावसायिक प्रतिष्ठानले अनावश्यक रूपमा ठूलो परिमाणमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। मन्त्रालयले होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा अनुगमन थप कडा बनाउने जनाएको छ।
नेपाल आयल निगमले पनि होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै सूचना जारी गरेको छ। निगमले सूचनाविपरीत सिलिन्डर मौज्दात राखेको पाइएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ। तर निगमका प्रवक्ता मनोज ठाकुरले होटल वा अन्य उपभोक्ताले कति सिलिन्डर राख्न पाउने भन्ने स्पष्ट व्यवस्था नरहेको बताएका छन्। उनका अनुसार ग्यासको आयात भइरहे पनि बजार व्यवस्थापनमा समस्या देखिएकाले सबै उपभोक्ताले अनावश्यक भण्डारण नगरी आपूर्ति व्यवस्थापनमा सहयोग गर्नुपर्ने अवस्था छ।
वाणिज्य मन्त्रालयका एक प्रतिनिधिले पनि होटलले कति ग्यास खरिद गर्न वा मौज्दात राख्न पाउने भन्ने स्पष्ट नियम नभएको स्वीकार गरेका छन्। उनका अनुसार निश्चित कानुनी आधारबिना कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा प्रश्न उठ्न सक्छ। मन्त्रालय स्रोतका अनुसार होटल र्याडिसनमा गरिएको अनुगमनपछि अब के–कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। सरकारले ग्यासको आपूर्ति सहज बनाउन तथा अनधिकृत भण्डारण रोक्न होटल, रेस्टुरेन्ट र अन्य व्यावसायिक प्रतिष्ठानमा अनुगमनलाई निरन्तरता दिने तयारी गरेको छ। यस घटनाले भने व्यावसायिक प्रयोजनका लागि ग्यासको मौज्दात सीमा स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ।