काठमाडौँ । लगातारको वर्षासँगै गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा घरसहित गोठ पुरिएका थिए। घटनामा स्थानीय १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उद्धारपछि उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। दुवैको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार साउन २७ गते दिउँसोदेखि निरन्तर वर्षा भएपछि पहिरो गएको थियो। घटनाको जानकारी पाएपछि राति प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा घाइतेको उद्धार गरिएको थियो। प्रारम्भिक विवरणअनुसार पहिरोका कारण करिब छ वटा घर तथा गोठमा क्षति पुगेको अनुमान गरिएको छ। घटनाबारे थप विवरण संकलन तथा क्षतिको यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।