काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान आसपासमै रहेको छ।
हाल मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको महाशाखाले जनाएको छ। बिहानको समयमा कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
दिउँसो तथा रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी गतिविधि सक्रिय रहेकाले वर्षाको समयमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।