काठमाडौँ । भारतीय उद्योगपति गौतम अदानी विरूद्धको आपराधिक मुद्दालाई अमेरिकी अदालतले खारेज गरेको छ।
रोयटर्सका अनुसार सोमबार ब्रुकलिनस्थित जिल्ला न्यायाधीश निकोलश गराउफिसले मउनीविरूद्ध रहेको ठगी र घुसखोरीको मुद्दा खारेज गरेको हो।
मुद्दा खारेज गरे पनि न्यायाधीशले अभियोजनकर्तालाई अदानीको मुद्दा फिर्ता गर्ने ‘दुर्लभ’ निर्णयका कारणबारे प्रश्न भने गरेका थिए।अमेरिकामा अदानीले १० बिलियन अमेरिकी डलर लगानी गर्ने भनेर गरेको बाचाले प्रभावित पारेको हो कि भनेर समेत प्रश्न गरेको रोयटर्सको समाचारमा उल्लेख छ।न्यायाधीशले अनुसन्धानमा संलग्न सरकारी वकिल र एजेन्टसँग परामर्श नै नगरी अदानीको प्रतिरक्षामा आएका वकिलहरूसँग मिलेर मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै प्रमुख सहन्यायाधिवक्ता ट्रेन्ट म्याकोटरको आलोचना समेत गरेका थिए।‘अभियोग खारेज गर्ने निर्णयमा देखिएका अनियमितता चिन्ताजनक छन्,’ न्यायधीश गराउफिसले आदेशमा लेखेका छन्, ‘म्याकोटरले विभिन्न संघीय कार्यालयका असंख्यक अधिकारीहरूसँगको रायलाई बेवास्ता गरी एकल निर्णय लागु गरेको देखिन्छ।
यस टिप्पणीबारे कानुन मन्त्रालयका प्रवक्ता केयरस्टन पेल्सलाई सोधिएको थियो। जबाफमा जुलाई ४ मा दर्ता भएको एक निवेदनलाई संकेत गरेका थिए। जसमा म्याकोटरले अदानीका वकिल तथा आफ्नै अनुसन्धान र विश्लेषण गरेर मुद्दा खारेज गर्ने निर्णय लिएको बताएको छ।यसरी अदालतले पनि मुद्दा खारेज गरेपछि अदानीले सामाजिक सञ्जाल एक्समा समेत लेखेका छन्।‘म अमेरिकी अदालतको यो निर्णयलाई नम्रता र न्यायिक प्रक्रियाप्रतिको गहिरो सम्मानका साथ स्वागत गर्छु,’ उनले लेखेका छन्।म्याकोटरले अदालतमा अदानीले अमेरिकामा ठूलो रकम लगानी गर्ने प्रतिज्ञाका कारणले मुद्दा खारेज गर्ने निर्णय भएको भन्ने मिडियाका समाचारहरू गलत भएको बताएका थिए अदानी आफैं अदालतमा उपस्थित भएका थिएनन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदोस्रोकार्यकालका लागि आएसँगै अदानीविरूद्ध मुद्दा चलेको थियो।
मुद्दा दर्ता भएपछि अदानीले सलीभान एन्ड क्रमवेल फर्मका वकिलहरूलाई प्रतिरक्षाका लागि जिम्मा दिएका थिए। यही फर्मबाट ट्रम्पले पनि विभिन्न मुद्दाको प्रतिरक्षाका लागि जिम्मा दिएको पोलिटिकोले लेखेको छ। अमेरिकामा अभियोजन पक्षले मुद्दा खारेज गर्न अदालतसँग अनुमति मागेपछि न्यायाधीशले त्यसको कारण र कानुनी आधार जाँच गरी स्वीकृति दिएमा मुद्दा खारेज हुन्छ।अदानीले घुस खुवाएर ठेक्का जितेर अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो।सन् २०२० देखि २०२४ सम्मको भएको सो भ्रष्टाचार काण्डमा अदानी समूहका प्रमुख गौतम अदानी सहित उनका भतिजा सागर अदानी, अदानी पावरका प्रमुख कार्यकारी अधिकृत विनीत जैन, अज्युर पावर ग्लोबल लिमिटेडका सिरिल कबानेज, न्यु योर्क स्टक एक्सचेन्जमा दर्ता भएको नवीकरणीय उर्जा सम्बन्धी कम्पनीका पूर्व कार्यकारी रन्जित गुप्ता र रुपेश अग्रवाल, र क्यानेडियन संस्थागत लगानीकर्ता कम्पनीका पूर्व कर्मचारी सौरभ अग्रवाल र दिपक मलहोत्रालाई अमेरिकाले अभियोग लगाएको थियो।सो ५४-पाने अभियोगपत्रले उनीहरूलाई भ्रष्टाचार गरेको सरकारी छानबिनमा अवरोध गरेको समेत आरोप लगाएको छ।
आन्ध्र प्रदेशका तत्कालीन मुख्यमन्त्री वाइ एस जगन रेड्डी र गौतम अदानीबीच भेट भएपछि ९००० मेगावाटसम्मको सौर्य ऊर्जा योजनाको ठेक्का उनलाई दिइएको भनेर भारतीय कम्युनिष्ट पार्टीले २०२१ मा आरोप लगाएको थियो भनेर द वायरले लेखेको थियो। सर्ट(सेलिङ गर्ने अमेरिकी फर्म हिन्डेनबर्ग रिसर्चले जनवरी २०२३ मा अदानी समूहले शेयर मूल्य छेडखानी र लेखासम्बन्धी ठगी गरेर बजार मूल्य बढाएको आरोप लगाएको थियो।सर्ट(सेलरले उच्च मूल्य भएका कम्पनीका शेयर सापटी लिएर बेच्छ र ती शेयरको भाउ घटेपछि फेरि किनेर फिर्ता गर्छ। सापटी लिएको र फिर्ता गरेको बेलाको शेयर मूल्यमा रहेको भिन्नता उसको नाफा हुन्छ। कम्पनीले ठगी वा अरू कुनै गैरकानूनी कार्य गरेको छ भने आफैले अनुसन्धान गरेर सार्वजनिक समेत गर्छ। त्यसरी सार्वजनिक गरेपछि सो कम्पनीको शेयरको मूल्य घट्ने भएकाले सर्ट(सेलरलाई फाइदा हुन्छ।