काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ ।
मनसुनी प्रणालीको प्रभावका कारण हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।
देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । यसैगरी, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज राति पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्कता अपनाउन आवश्यक देखिएको छ ।