काठमाडौँ । नेकपा (एमाले)का सांसद कृपाराम रानाले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र जनभावनामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुनै देशको भूगोल, जनसंख्या वा आर्थिक अवस्था फरक हुन सक्ने भए पनि सार्वभौमसत्ताको दृष्टिले सबै राष्ट्र समान हैसियतमा रहने धारणा व्यक्त गरे। उनले नेपाल क्षेत्रफल, जनसंख्या वा आर्थिक हिसाबले छिमेकी मुलुकभन्दा सानो देखिए पनि सार्वभौम राष्ट्रका रूपमा यसको गरिमा, इतिहास र पहिचान उत्तिकै सम्मानित रहेको बताए। सांसद रानाले नेपालको भूमि र राष्ट्रिय स्वाभिमानमाथि कुनै पनि प्रकारको हस्तक्षेप सह्य नहुने उल्लेख गर्दै राष्ट्रियता भनेको केवल भूभाग मात्र नभई नागरिकको साझा भावना, एकता र आत्मसम्मानसँग जोडिएको विषय भएको बताए। उनले राष्ट्रिय एकता र सार्वभौमसत्ताको संरक्षणका लागि सबै राजनीतिक दल र नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।