काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सञ्चालन हुने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL २०२७) को अनलाइन आवेदन खुलाएको छ।
आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्रीलगायत स्नातक तहका स्वास्थ्य शिक्षा कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्य उम्मेदवारलाई निर्धारित अवधिभित्र आवेदन दिन आग्रह गरेको छ।
सूचनाअनुसार साउन २५ गते बिहान ९ बजेदेखि अनलाइन आवेदन प्रक्रिया सुरु हुनेछ। नियमित आवेदन दिने अन्तिम म्याद भदौ १५ गते साँझ ५ बजेसम्म तोकिएको छ। त्यसपछि भदौ २२ गते साँझ ५ बजेसम्म दोब्बर शुल्क तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
आवेदन शुल्क नेपाली उम्मेदवारका लागि ४ हजार रुपैयाँ र विदेशी उम्मेदवारका लागि ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। शुल्क हिमालय बैंकमार्फत बुझाउनुपर्नेछ।
आयोगले आवेदन दिनुअघि उम्मेदवारले आवश्यक शैक्षिक योग्यता, तोकिएका कागजात तथा अन्य मापदण्ड पूरा गरेको सुनिश्चित गर्न आग्रह गरेको छ।
आवेदन प्रक्रिया, योग्यता, परीक्षा तथा अन्य विस्तृत जानकारी आयोगको आधिकारिक वेबसाइट र प्रवेश परीक्षा पोर्टलमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।