काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँग तुलना गर्दा एकैदिन सुनको मूल्यमा ठूलो वृद्धि देखिएको हो। यस्तै, गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम रहेको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ४ हजार ५७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार यसको मूल्य ४ हजार ३१० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।