काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंशको उपचारका लागि आवश्यक एन्टी स्नेक भेनम पर्याप्त मौज्दात रहेको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य सेवा अझ सहज, गुणस्तरीय र प्रभावकारी बनाउन मन्त्रालयले सुधारका कामलाई प्राथमिकतासाथ अघि बढाइरहेको जानकारी दिइन्। मन्त्री मेहताका अनुसार स्वास्थ्य सेवा विभागको पछिल्लो विवरणअनुसार हाल देशभर १ हजार २६९ डोज एन्टी स्नेक भेनम उपलब्ध छ। त्यसमध्ये केन्द्रीय स्टोरमा १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा ४४४ डोज, स्वास्थ्य कार्यालयहरूमा २२२ डोज र सर्पदंश उपचार केन्द्रहरूमा ४६५ डोज मौज्दात रहेको उनले बताइन्। उनले आवश्यकता अनुसार औषधिको आपूर्ति र स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै लैजाने काम भइरहेको पनि उल्लेख गरिन्।