काठमाडौँ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको झडप र त्यसपछिको गोलीकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार विराटनगरमा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले बजार बन्द गराउँदै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाही गर्न माग गरेका हुन्।
प्रदर्शनका कारण विराटनगरको मुख्य बजार क्षेत्र तथा मेनरोडका अधिकांश पसल बन्द भएका छन्। बैंक तथा वित्तीय संस्था र केही विद्यालयसमेत प्रभावित भएका छन्। यद्यपि, मुख्य बजारबाहेकका केही स्थानमा भने पसलहरू सञ्चालनमा रहेका छन्। प्रदर्शनका बाबजुद समग्र सुरक्षा अवस्था सामान्य रहेको जिल्ला सुरक्षा निकायले जनाएको छ। कुनै अप्रिय घटना हुन नदिन संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अतिरिक्त सुरक्षा व्यवस्था गरिएको छ।
यसअघि आइतबार राति सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। उक्त घटनापछि स्थानीय स्तरमा विरोध प्रदर्शन जारी छ। यसैबीच, सम्भावित तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्म मेला, महोत्सव, विवाह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत सार्वजनिक कार्यक्रममा डिजे बजाउन प्रतिबन्ध लगाएको जनाएको छ। प्रशासनले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई सहयोग गर्न पनि आग्रह गरेको छ।