काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको आरोपमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र लीलाबहादुर लामाविरुद्ध थप अनुसन्धान गर्न विशेष अदालतले १० दिनको म्याद दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले दुवैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गरिरहेको छ। यसअघि उनीहरूमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा नेपाल प्रहरीले पनि अनुसन्धान अघि बढाएको थियो। सशस्त्र प्रहरीको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।
घटनाबारे सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबिनमा हिनामिनाको योजना इन्सपेक्टर गुरुङकै संलग्नतामा भएको निष्कर्ष निकालिएको जनाइएको छ। छानबिन प्रतिवेदनमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्बिजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको समेत गम्भीर लापरबाही देखिएको उल्लेख गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।