काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारका विभिन्न मागसहित सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई धनगढीस्थित कृष्ण मन्दिरको धर्मशाला खाली गर्न मन्दिर व्यवस्थापन समितिले पत्र पठाएको छ।
डा. केसी बिहीबारदेखि कृष्ण मन्दिर परिसरको धर्मशालामा सातबुँदे माग राख्दै सत्याग्रहमा बसेका छन्। तर, मन्दिर व्यवस्थापन समितिले धर्मशाला छाड्न आग्रह गर्दै पत्र पठाएपछि उनको सत्याग्रहस्थलबारे अन्योल सिर्जना भएको छ। डा. केसीका सहयोगी डा। अमृत जैसीका अनुसार अबको कदमबारे छलफल भइरहेको छ। उनका अनुसार केसीले मन्दिर व्यवस्थापन समितिको अनुमति लिएर नै सत्याग्रह सुरु गरेका थिए। यसअघि पनि उनले यही स्थानबाट दुईपटक अनशन सञ्चालन गरिसकेका थिए।
यता, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले भने डा. केसीले कोठामा बस्ने जानकारी मात्र गराएको र धर्मशालामै सत्याग्रह सुरु गरिनेबारे समितिलाई पूर्वजानकारी नभएको दाबी गरे। पन्तका अनुसार धार्मिक स्थलमा अनशन गर्न अनुमति दिएको भन्दै विभिन्न पक्षबाट दबाब आउन थालेपछि धर्मशाला खाली गर्न अनुरोध गरिएको हो। डा.केसीले सुदूरपश्चिमको कैलालीस्थित गेटामा स्थापना हुन लागेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित विषयलाई मुख्य माग बनाउँदै सत्याग्रह सुरु गरेका छन्। उनले विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागसहित सातबुँदे माग अघि सारेका छन्। यद्यपि, गेटामा विश्वविद्यालय स्थापनाको काममा अवरोध पुर्याउने उद्देश्यले सत्याग्रह गरिएको भन्दै स्थानीय तहका केही नागरिकले असन्तुष्टि समेत जनाएका छन्।