काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रमको वस्तुगत र वैज्ञानिक समीक्षा नगरी मुलुकले अहिलेका चुनौतीको सामना गर्न नसक्ने बताएका छन्।
उनले उक्त घटनालाई प्रतिक्रान्तिकारी परिघटनाका रूपमा व्याख्या गर्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेपसमेत देखिएको दाबी गरे। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र वामपन्थी आन्दोलनले आफ्नो भूमिकाको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भदौ २३ र २४ को घटनाले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै नेपालको इतिहासमा सुगौली सन्धिपछिको सबैभन्दा कमजोर अवस्था देखिएको दाबी गरे। विगतमा विदेशी शक्तिसँग वीरतापूर्वक लडेको नेपाली सेना र नेतृत्व अहिले यस्तो अवस्थामा किन पुग्यो भन्ने विषयमा गम्भीर विश्लेषण आवश्यक रहेको उनको भनाइ थियो। प्रचण्डले सामन्ती निरंकुश शासनविरुद्ध भएका सशस्त्र संघर्ष, जनयुद्ध र जनआन्दोलनमार्फत नेपाली जनताले देखाएको शक्ति स्मरण गर्दै अहिले वामपन्थी शक्तिहरू किन कमजोर र निरीह बने भन्ने विषयमा निष्पक्ष समीक्षा हुनुपर्ने बताए। उनका अनुसार सतही समीक्षा वा सामान्य आत्मआलोचनाले मात्र अहिलेको अवस्था सुधार्न सम्भव छैन।
उनले विगतमा आन्दोलनका कमीकमजोरीबारे समीक्षा हुँदै आएको भए पनि अहिलेको परिस्थितिले अझ गहिरो आत्ममूल्यांकनको माग गरेको बताए। वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको स्वीकार गर्दै त्यसकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको हुन सक्ने धारणा उनले व्यक्त गरे। प्रचण्डले आफ्नै आँखाअगाडि राष्ट्रिय सम्पदा तथा विभिन्न राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड भएको घटनाले गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै त्यसका कारण र पृष्ठभूमिबारे विस्तृत अध्ययन र विश्लेषण आवश्यक रहेको बताए।