काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार, संस्कृति र मूल्यबोध प्रदान गर्न आवश्यक रहेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ले नयाँ पुस्तामा कस्तो सोच र संस्कार विकास भइरहेको भन्ने प्रश्न उठाएको टिप्पणी गरे। उनले परिवर्तनका नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने वा राष्ट्रिय व्यक्तित्वहरूको अपमान गर्ने गतिविधि स्वीकार्य हुन नसक्ने बताए। पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, तुल्सीलाल अमात्य, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत राष्ट्रका योगदानकर्ता व्यक्तित्वप्रति सम्मानभाव राख्नुपर्ने उनको भनाइ थियो।
नेपालले नयाँ पुस्ताका गुनासा र असन्तुष्टिलाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र जनताका समस्याको समाधानका लागि ठोस योजना आवश्यक रहेको बताए। उनले सबै राजनीतिक दल र नेताहरूलाई एउटै दृष्टिकोणबाट मूल्यांकन गर्नु उचित नहुने उल्लेख गर्दै भएका कामको वस्तुगत समीक्षा गर्नुपर्ने धारणा राखे। देशको वर्तमान परिस्थितिमा सामाजिक अभियन्ता, राजनीतिक नेतृत्व र आम नागरिक सबै जिम्मेवार र गम्भीर भएर राष्ट्रहितमा अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।