सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफैँ अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो। गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटना लगत्तै प्रहरी र स्थानीयले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाएका छन्। दुर्घटनाग्रस्त गाडी अहिले घटनास्थलमै रहेको छ भने चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १९ जनामध्ये तीन जनाको अवस्था निकै गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम र सामान्य रहेको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचाररत सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वलीको टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, कर्णाली केयर अस्पतालमा उपचाररत गुर्भाकोट–१३ का ५ वर्षीय बालक रियाज शाही र माया अस्पतालमा उपचाररत तनहुँ घर बताउने ३९ वर्षीया भावना राईको अवस्था पनि सिरियस रहेको छ। माया अस्पतालमा सिम्ता–९ का ४५ वर्षीया विष्णुमाया सुनार र १० वर्षीय प्रवीन सुनारको मध्यम अवस्थामा तथा भावना राईका २ वर्षीय छोरा प्रज्वल राईको सामान्य अवस्थामा उपचार भइरहेको छ। कर्णाली केयर अस्पतालमा गुर्भाकोट–१३ की २३ वर्षीया ममता पुनको सामान्य अवस्थामा उपचार भइरहेको छ।
त्यसैगरी, मेहेलकुना अस्पताल सुर्खेतमा १३ जना घाइतेहरूको उपचार भइरहेको छ। जसअनुसार गुर्भाकोट–१४ का ३२ वर्षीया जैसरा बुढा, ६० वर्षीया भुमिसरा खड्का, ४२ वर्षीय उदयराम भुजेल, ४५ वर्षीया धनमाया भुजेल, १२ वर्षीय सक्षम बुढा र १७ वर्षीया भावना आले रहेका छन्। त्यस्तै, सिम्ता–९ का ३२ वर्षीया टीका खत्री, ६० वर्षीय भीमबहादुर थापा, ५५ वर्षीया तुलसरा सुनार, १५ वर्षीया प्रीति गुरुङ, ३० वर्षीया शान्ता खत्री र ३० वर्षीया मनिषा थापाको पनि मेहेलकुना अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।