काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे ध्यानाकर्षण गराउँदै प्रतिपक्षी दलहरूले राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
बुधबार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराउने उद्देश्यसहित उक्त प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेस राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३को हालसम्मको कार्यान्वयन अवस्था, विपद् व्यवस्थापनका लागि गरिएको तयारी तथा सरकारी संयन्त्रको प्रभावकारिताबारे सदनलाई जानकारी गराउन माग गरिएको छ।
प्रस्तावमा विपद्को पूर्वसूचनाका लागि निःशुल्क एसएमएस सेवा कार्यान्वयनको अवस्था, त्यसको पहुँच, समयमै सूचना प्रवाह तथा प्रभावकारिताबारे पनि सरकारसँग स्पष्ट जवाफ मागिएको छ। कांग्रेसका राष्ट्रियसभा सचेतक पदमबहादुर परियारले मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला सरकारले गरेका तयारी, उपलब्ध स्रोत–साधन र आगामी कार्ययोजनाबारे स्पष्ट पार्न आवश्यक भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको बताए। उनका अनुसार विपद्बाट थप जनधनको क्षति हुन नदिन सरकारलाई आवश्यक निर्देशन दिन पनि यो प्रस्ताव आवश्यक भएको हो। प्रस्तावमा उद्धार कार्यका लागि आवश्यक बजेट तथा राहत कोषको अवस्था, वैकल्पिक संयन्त्रको तयारी, विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको योजना, साथै उच्च जोखिममा रहेका क्षेत्र र समुदायको सुरक्षाका लागि गरिएका पूर्वतयारी र समन्वयका विषय पनि समेटिएका छन्।