काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको समितिको बैठकले उम्मेदवारविरुद्ध प्राप्त उजुरीको अध्ययन, उनीहरूले पेस गरेका कार्ययोजनाको समीक्षा तथा सुनुवाइ प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका तय गरेको हो। बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरीको अध्ययन गरी आवश्यक परे उजुरीकर्तालाई समितिमा बोलाउने, उम्मेदवारलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न आमन्त्रण गर्ने तथा सुनुवाइको सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउन कार्यतालिका स्वीकृत गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकको निर्णय सार्वजनिक गर्दै सभापति श्रेष्ठले सिफारिस भएका उम्मेदवारका कार्ययोजना र उजुरीमाथि अध्ययन गरिने जानकारी दिए। उनका अनुसार साउन १२ गते निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको सुनुवाइ हुनेछ भने साउन १३ गते प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ गरिनेछ। दुवै दिनको बैठक बिहान ११ः१५ बजेबाट सुरु हुनेछ। समितिले उम्मेदवारमाथि परेका उजुरी, उनीहरूको कार्ययोजना र सुनुवाइका क्रममा प्राप्त जानकारीका आधारमा संसदीय सुनुवाइ प्रक्रिया टुंगो लगाउने जनाएको छ।