काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा वस्तु तथा सेवा कारोबार गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। विभागले चालु आर्थिक वर्ष २०८३–८४ को सूचना नं. ०३–२०८३–८४ जारी गर्दै बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावट गरिएका तथा चोरी पैठारीका सामान बिक्री–वितरण भइरहेको विषयमा सरकार गम्भीर रहेको जनाएको हो।
विभागका अनुसार भौतिक बजारसँगै डिजिटल अनलाइन प्लेटफर्ममार्फत दैनिक उपभोग्य खाद्यान्न, पेयपदार्थ, लत्ताकपडा लगायतका सामग्री अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी तथा जनगुनासो बढ्दै गएपछि निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइनेछ। सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६८८ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मिसावटयुक्त, कम गुणस्तरका तथा चोरी पैठारीका सामानको उत्पादन, आयात वा बिक्री–वितरण कानुनविपरीत हुने स्पष्ट पारिएको छ।
विभागले उत्पादन, पैठारी, ढुवानी, भण्डारण तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई प्रचलित कानुनअनुसार तोकिएका मापदण्ड, सर्त र दायित्वको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै बजार अनुगमनलाई अझ सशक्त बनाइने जनाउँदै उपभोक्ताको स्वास्थ्य, सुरक्षा र अधिकारमाथि असर पर्ने कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा व्यवसायीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने विभागले चेतावनी दिएको छ।