काठमाडौँ । लगातारको वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिनाइ भएको छ।
सडकमा पानीको सतह बढेपछि अधिकांश सवारी साधन सुस्त गतिमा सञ्चालन भएका छन्। कतिपय स्थानमा यात्रुहरू पानी छिचोल्दै गन्तव्यतर्फ जान बाध्य भएका छन्। भारी वर्षाका कारण काठमाडौँ महानगरपालिका–१० अन्तर्गतको सहभागिता मार्ग पनि डुबानमा परेको छ। ढल निकास व्यवस्थापन प्रभावकारी नहुँदा माइतीघर क्षेत्रमा हरेक वर्षजस्तै यसपटक पनि जलमग्न अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। डुबानमा परेका सवारी साधनलाई ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले सुरक्षित स्थानमा निकाल्ने काम गरिरहेको महानगरले जनाएको छ। सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।