काठमाडौँ । धनगढी– सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा आइतबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा भइरहेको र केही स्थानमा भारी वर्षासमेत रेकर्ड भएको जानकारी दिए। हालसम्म सबैभन्दा धेरै वर्षा कञ्चनपुरको बेलौरी क्षेत्रमा मापन गरिएको छ, जहाँ ७९.६ मिलिमिटर पानी परेको छ। अत्तरियामा भने १२ मिलिमिटर वर्षा रेकर्ड भएको कार्यालयले जनाएको छ। मौसमविद् साहका अनुसार प्रदेशका प्रमुख नदी तथा खोलाहरूको बहाव हाल सामान्य रहे पनि सोमबार वर्षा अझ बढ्ने सम्भावना भएकाले नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्छ। उनले विशेषगरी नदी तथा खोलानजिक बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। कार्यालयका अनुसार आज रातिदेखि पनि सुदूरपश्चिमका हिमाली, पहाडी र तराई क्षेत्रमा बदली कायम रहनेछ। धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।