काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्था सुधार गर्न सरकारलाई आवश्यक कदम तत्काल अघि बढाउन निर्देशन दिएको छ।
आइतबार बसेको समितिको बैठकमा बाल सुधार गृह तथा कारागारको स्थलगत अध्ययनपछि तयार गरिएको उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको हो। छलफलका क्रममा सांसदहरूले बाल सुधार गृहको भौतिक पूर्वाधार सुदृढ बनाउन, आवश्यक जनशक्ति व्यवस्थापन गर्न, मनोसामाजिक परामर्श सेवा विस्तार गर्न तथा बालमैत्री वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले बालअधिकार संरक्षणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि बताएका थिए।
समितिले प्रतिवेदन कार्यान्वयन गर्दै बालबालिकाको सुरक्षा, शिक्षा, स्वास्थ्य, सरसफाइ, पुनःस्थापना तथा न्यूनतम मानवअधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। साथै बाल सुधार गृहमा देखिएका समस्या समाधान गरी सुधार गृहको व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढाउन आग्रह गरेको छ। समिति सभापति समिक्षा बास्कोटाले क्षमता भन्दा बढी बालबालिका राख्ने अवस्थाको अन्त्य गर्दै आवश्यक पूर्वाधार, जनशक्ति तथा सेवा–सुविधाको व्यवस्थापन गर्नुपर्ने बताए। उनले बैठकमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई थप परिमार्जन गरी आवश्यक निर्देशन र सिफारिसमार्फत कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाइने जानकारी दिए।
बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले देशभरका बाल सुधार गृहलाई सुधार, शिक्षा र पुनःस्थापनामुखी केन्द्रका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए उनका अनुसार तनहुँको ढकालटारमा निर्माणाधीन बाल सुधार गृह अन्तिम चरणमा पुगेको छ भने कर्णाली प्रदेशमा नयाँ सुधार गृह स्थापना गर्न बजेट विनियोजन गरिएको छ। मन्त्री वादीले हाल चारवटा बाल सुधार गृहमा मात्र विद्यालय सञ्चालनमा रहेकामा आगामी दिनमा अन्य सुधार गृहमा पनि शिक्षाको पहुँच विस्तार गरिने बताए। साथै बालबालिकालाई व्यावसायिक तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीपमूलक तालिम प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए। समितिले बाल अधिकार संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै सुधार गृहमा रहेका बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न सरकार सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको छ।