काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ।
प्रहरीका अनुसार करिब १ बजेतिर दुई वटा गाडी एकआपसमा ठोक्किँदा ती गाडीहरू अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकलमा समेत ठोक्किएका हुन्। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार तथा आवश्यक व्यवस्थापन गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न सवारी साधनको विस्तृत विवरण, घाइतेहरूको अवस्था तथा गाडीहरूको नम्बर खुल्ने क्रममै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।