काठमाडौँ। केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सम्बन्ध चिसिँदै जाँदा विभिन्न प्रदेशमा राजनीतिक समीकरण परिवर्तन हुने चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने हालको गठबन्धन सरकारले निरन्तरता पाउने भएको छ।
मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्मिलित तीन दलीय गठबन्धनलाई यथावत् राख्ने सहमति भएको छ। बिहीबार तीनै दलका नेताबीच भएको छलफलमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालिएको हो। एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीनै दल गठबन्धन कायम राख्न सहमत भएका छन्। उनले अन्य प्रदेशमा राजनीतिक समीकरण फेरबदल भए पनि मधेश प्रदेशमा भने त्यसको कुनै प्रभाव नपर्ने स्पष्ट पारे। उनका अनुसार प्रदेश सरकारलाई स्थायित्व दिने उद्देश्यले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको हो।