काठमाडौँ । रूपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सहचालक सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा भीम अस्पताल, भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे, ३४ वर्षीया श्रद्धा जोशी, शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवा निवासी २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका–७ बडवलियाकी ५५ वर्षीया शाहाबुन निसा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ निवासी ३८ वर्षीय सुनिल थापा तथा नवलपरासीको सुनवल नगरपालिका–६ की ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्। प्रहरीका अनुसार कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनापछि घटनास्थलबाट फरार भएका माइक्रोबस चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।