काठमाडौँ । मिटरब्याज तथा ठगीविरुद्ध लामो समयदेखि आन्दोलन गरिरहेका किसान–मजदुर तथा पीडितहरूको प्रतिनिधिमण्डल र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ।
बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो १२ बजे बस्ने उक्त बैठकलाई दुवै पक्षले निकै महत्वपूर्ण र निर्णायक मानिरहेका छन्। यसअघि मंगलबार र बुधबार भएको पहिलो र दोस्रो चरणको वार्ता करिब पाँच–पाँच घण्टा चले पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेको थिएन। त्यसैले आजको छलफलबाट सहमति जुट्ने अपेक्षा गरिएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौंसम्म ‘न्याय यात्रा’ नामक पैदल मार्च सुरु गरेका थिए। न्यायको माग गर्दै घामपानीको समेत पर्वाह नगरी अघि बढिरहेका आन्दोलनकारीहरूको माग सम्बोधन गर्न गृहमन्त्री गुरुङ स्वयं निजगढ पुगेका हुन्।
पीडित पक्षले सरकारसमक्ष छ बुँदे माग पेश गरेको छ। उनीहरूले फर्जी लिखत खारेज, मिटरब्याज नियन्त्रणका लागि विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबारको सुनिश्चितता लगायतका माग अघि सारेका छन्। पछिल्ला दुई दिनको वार्तामा ती मागका कानुनी तथा प्राविधिक पक्षबारे विस्तृत छलफल भएको जनाइएको छ। आन्दोलनकारीहरूले स्पष्ट र कार्यान्वयनयोग्य प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताएका छन्। उता सरकारी पक्षले भने कानुनी प्रक्रिया र विद्यमान व्यवस्थाअनुसार समस्या समाधानका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। आज हुने तेस्रो चरणको वार्ताले मिटरब्याज पीडितहरूको लामो संघर्षलाई सहमतितर्फ लैजान्छ कि आन्दोलन अझै लम्बिन्छ भन्ने चासो बढेको छ। देशभरका हजारौं पीडितको नजर अहिले निजगढमा हुने यसै वार्तामाथि केन्द्रित छ।