काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको जीर्ण सडक पूर्वाधारप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल मर्मत, पुनर्निर्माण र आवश्यक बजेटको व्यवस्था गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले मेची राजमार्गसहित इलामका प्रमुख सडकहरू अत्यन्त जीर्ण बनेकाले सर्वसाधारणले दैनिक आवागमनमा सास्ती खेप्नुपरेको र बिरामी तथा सुत्केरीलाई अस्पतालसम्म पुर्याउनसमेत कठिनाइ भइरहेको बताए। उनले इलामको अवस्था उल्लेख गर्दै भने, “कुनै समय हरित नगरीका रूपमा परिचित इलाम अहिले हिलोमय बनेको छ। मेची राजमार्गको अवस्था निकै दयनीय छ। बिरामी वा सुत्केरीलाई झापास्थित अस्पतालसम्म लैजानसमेत सहज अवस्था छैन। इलाम–राजदरबार सडकखण्ड पनि उत्तिकै जीर्ण अवस्थामा छ।
सांसद राईले इलाम–राजदरबार सडक, माइजोगमाई खोलाको बेलीब्रिज, पुवाखोलाको बेलीब्रिज तथा सिमलगोल क्षेत्रका सडकहरूको स्तरोन्नतिका लागि पटक–पटक सदनमा आवाज उठाए पनि सरकारले आवश्यक पहल नगरेको गुनासो गरे। गत वर्षको प्राकृतिक विपत्तिपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि आवश्यक बजेट पर्याप्त रूपमा उपलब्ध नगराइएको उनले बताए। सन्दकपुर, माइजोगमाई, रोङ र सूर्योदय नगरपालिका अझै पनि प्राकृतिक जोखिममा रहेको उल्लेख गर्दै ती क्षेत्रमा बस्ती विस्थापनको खतरा कायम रहेको उनको भनाइ थियो।
उनले माइजोगमाई गाउँपालिका र आसपासका क्षेत्रमा नदी कटानका कारण खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित किसानलाई राहत उपलब्ध गराउन र नदी नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरे। सांसद राईले सन्दकपुर अस्पतालको स्तरोन्नति, सूर्योदय नगरपालिका–१२ देखि वडा नं. ३ जोड्ने सडक, माइपोखरी–ढापपोखरी–नयाँबजार सडकलगायत विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन पनि सरकारलाई आग्रह गरे।