काठमाडौँ । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–५ स्थित नेरघाटमा बेलीब्रिज निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले वर्षौंदेखिको तुइन र झोलुङ्गे पुलको जोखिमपूर्ण यात्रा अन्त्य गरेका छन्। पुल सञ्चालनमा आएसँगै सो क्षेत्र कर्णाली करिडोरसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
यसअघि स्थानीयवासीले नदी वारपार गर्न तुइन र पछि झोलुङ्गे पुलको भर पर्नुपर्ने अवस्था थियो। बेलीब्रिज निर्माण भएसँगै दैनिक आवतजावत सहज हुनुका साथै मानिस र पशुचौपायाको ओहोरदोहोर पनि सुरक्षित बनेको स्थानीयको भनाइ छ। स्थानीय उत्पादनले अब सहज रूपमा बजार पाउने अपेक्षा गरिएको छ। बजार पहुँच विस्तारसँगै कृषिजन्य उत्पादनको बिक्री बढ्ने र स्थानीयको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। पूर्वाधार विकास कार्यालय मुगुले २०८१ साल असार ४ गते करिब ४ करोड ९४ लाख रुपैयाँ लागतमा ६० मिटर लामो बेलीब्रिज निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। निर्माण सम्पन्न भई पुल २०८३ असार मसान्तबाट सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएपछि नेर र ताजा गाउँका करिब १ हजार ५ सयभन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिने भएका छन्।
स्थानीय विरुपक्ष शाहीका अनुसार पुल नहुँदा बाबियो घाँसबाट बनाइएको तुइन र त्यसपछि झोलुङ्गे पुलको प्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले बेलीब्रिज बनेपछि आवतजावत सुरक्षित र सहज भएको छ। सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले पुल निर्माणले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग पुग्ने र यसले नागरिकको आयआर्जनमा पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। रिडार्क नेपाल प्रालि, ललितपुरले निर्माण गरेको उक्त पुल कर्णाली नदीमा पानीको उच्च बहाव तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिका कारण निर्धारित समयभन्दा केही ढिलो सम्पन्न भएको जनाएको छ। पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार पुलबाट मुगुको नेर र ताजा बस्तीका बासिन्दामात्र नभई हुम्लाबाट आवतजावत गर्ने नागरिकले समेत प्रत्यक्ष लाभ लिनेछन्।